जेष्ठ नागरिकहरुलाई स्वास्थ्य संस्थासम्म पुग्न अफ्टेरो पर्ने भएकोले पालिका अध्यक्ष र स्वास्थ्यकर्मी घर घरमै

Kandara News
प्रकाशित : २०८१ वैशाख २७ गते २३:०९

 

पूर्वखोला गाउँपालिकामा  जेष्ठ नागरिक संग अध्यक्ष कार्यक्रम सुरु भएको छ । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले २६ गते  बुधबार वडा नं ५ वीरकोट, आफरडाँडाबाट कार्यक्रमको शुभारम्भ गरेका हुन् । स्थानीय १०१ बर्षीया कुमारीसरा कुवँरको स्वास्थ्य जाँच पछि उनलाई ब्लांकेट उपहार दिएर कार्यक्रमको शुभारम्भ गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए। यो कार्यक्रम अन्तर्गत पालिकाले ८० बर्ष माथिका जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श दिने गरेको छ ।

जेष्ठ नागरिकहरुलाई स्वास्थ्य संस्थासम्म पुग्न अफ्टेरो पर्ने भएकोले घरमै गएर सामान्य जाँचहरु गरिएको हो । घर घरमा पुग्ने स्वास्थ्यकर्मीले जेष्ठ नागरिकले उच्च रक्तचाप, मधुमेह सहित जनरल चेकअप गर्ने गरेका छन् । उनीहरुले आवश्यकताका आधारमा जेष्ठ नागरिकलाई औषधि समेत निशुल्क उपलव्ध गराउँदछन्,’ शाखा प्रमुख ढकालले भने । १४ हजार ९४७ कुल जनसंख्या भएको पूर्वखोला गाउँपालिकामा ८० बर्ष उमेर माथिका नागरिकको संख्या २५७ रहेको छ । यस्तै पूर्ण अपांङ्गता भएका व्यक्तिको संख्या ५१ जना रहेको छ । पालिकाले हिजो देखि सुरु गरेको जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रममा पूर्ण अपांङ्गता भएका व्यक्तिहरु समेत समेटिने बताइएको छ ।

कुल ३०८ जना व्यक्तिलाई हामीले घर घरमा पुगेर स्वास्थ्य जाँच साथै उपहार वितरण गर्दैछौँ,’ ढकालले भने । त्यसो त पूर्वखोला गाउँपालिकाले यो कार्यक्रम आर्थिक बर्ष २०७४/७५ बाट नै सुरु गरेको हो । त्यसबेला यो कार्यक्रम लुम्बिनी प्रदेशकै पहिलो थियो । पूर्वखोलाको कार्यक्रम राम्रो मानिएपछि आर्थिक वर्ष २०७८/७९ देखि लुम्बिनी प्रदेशले पनि यो कार्यक्रम अघि बढाएको हो ।


प्रकाशित : २०८१ वैशाख २७ गते २३:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology