पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड बिग्रिरहने र जोखिमयुक्त सडकको रुपमा स्थापित छ । कहिले पहिरो, हिलो त सडक भासिने समस्याले घण्टौसम्म सडक जाम हुँदा दिनानुदिन यात्रु र सवारी चालकहरु आक्रान्त भैरहने यही सडक चैत २७ गतेदेखि मर्मत हुँदैछ । 
चैत २७ गतेदेखि ३१ सम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख १ देखि १५ गतेसम्म रातिको समय सवारी आवागमन बन्द गरिने भएको छ । मुख्य राजमार्ग बन्द हुने भएपछि वैकल्पिक मार्गको खोजी भैरहेको छ ।
साना सवारी साधनहरु दुईपांग्रे, स्कार्पियो, जिप, फोर ह्विलरका लागि बर्दघाटको भुताहा, संसारकोट, पटुके, डाँडाजोर हुँदै दुम्किबास जोडिने वैकल्पिक बाटो उपयोगी हुनसक्छ । पूर्वबाट पश्चिम जान चाहनेले दुम्किबासबाट करिब ६ किलोमिटर उत्तर डाँडाजोर पुग्नुपर्छ, जहाँसम्म कालोपत्रे सडक छ । त्यहाँबाट करिब ४ किलोमिटर पश्चिमपट्टि लाग्दा पटुके आइपुगिन्छ, जुन विनयी त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिकाको सिमाना हो ।
पटुकेबाट संसारकोट, आम्बास, सिमसार हुँदै भुताहाको अमरदिप चोकमा आइपुगिन्छ र पुन: पूर्व–पश्चिम राजमार्गमा जोडिन सकिन्छ । यो मार्ग हिउँदको मौसममा सहज मानिन्छ, तर पहाडी क्षेत्रको कच्ची सडक र साँघुरो मोडका कारण सवारी चाप बढेमा जामको समस्या हुनसक्छ ।
पश्चिमबाट पूर्वतर्फ आउन चाहने सवारीका लागि यही मार्ग उल्टो दिशाबाट भुताहा, सिमसार, आम्बास, संसारकोट, पटुके हुँदै डाँडाजोर-दुम्किबास-प्रवेश गर्न सकिन्छ। यो दुरी करिब १५ किलोमिटर छ ।
ठूला सवारी साधनका लागि भने गैँडाकोट–बौदीकाली–रामपुर हुँदै कालिगण्डकी कोरिडोरको बाटो लम्बिएको भए पनि उपयुक्त विकल्पका रूपमा लिन सकिन्छ ।
प्रकाशित : २०८१ चैत २५ गते १६:१५
Facebook Comment