सरकार गठनको अन्तिम तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डाको टुङ्गो लगाए

www.kandaranews.com
प्रकाशित : २०८१ असार ३१ गते २१:४४

सरकार गठनको अन्तिम तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डाको टुङ्गो लगाएका छन् । दुई दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ ।

एमालेले अर्थसहित आठ मन्त्रालय र कांग्रेसले गृहसहित नौं मन्त्रालय लिने समझदारी जुटेको हो । जस अनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जानकारी दिएको छ । यस्तै कांग्रेसले गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालय लिने भएको छ । कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दलले आन्तरिक तयारी तीब्र बनाएका छन् ।

एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ भने कांग्रेसले उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने छ । गृहमा भने प्रमुख सचेतक समेत रहेका रमेश लेखकलाई पठाउने तयारी भएको कांग्रेसका नेताहरूले बताएका छन् । संविधानकोे धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार राष्ट्रपतिले नियुक्त गर्ने तयारी गरेका छन् । लगत्तै सोमबार बिहान ११ बजे शपथ ग्रहण हुने बताइएको छ । ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

एमालेको भागको मन्त्रालय
अर्थ मन्त्रालय
भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय
शिक्षा मन्त्रालय
उद्योग मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
भूमिसुधार मन्त्रालय

कांग्रेसको भागको मन्त्रालय
गृह मन्त्रालय
रक्षा मन्त्रालय
ऊर्जा मन्त्रालय
स्वास्थ्य मन्त्रालय
सहरी विकास मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
कृषि मन्त्रालय
वन मन्त्रालय


प्रकाशित : २०८१ असार ३१ गते २१:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology