बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा करोडौं को क्षती

Kandara News
प्रकाशित : २०८१ असार ९ गते १०:०१

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताउनुभयो । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।


प्रकाशित : २०८१ असार ९ गते १०:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology