सिद्धार्थ राजमार्ग तत्काल मर्मत गर्न युवा संघ पाल्पाको माग
पाल्पा : ३१ बैशाख । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पाल्पाले सिद्धार्थ राजमार्ग मर्मत गर्न माग गरेको छ ।
आइतबार सडक डिभिजन कार्यालय पाल्पाका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।
युवा संघका केन्द्रीय सदस्य दीपक विश्वकर्माको नेतृत्वमा गएको टोलीले तिनाउ गाउँपालिका-३ झुम्सास्थित साँघुरा घुम्ती सहित विभिन्न घुम्ती काटेर फराकिलो बनाउनुपर्ने, राजमार्गमा भएका निर्माण सामग्री व्यवस्थापन गर्नुपर्ने, अहिले भइरहेका निर्माण कार्यलाई बर्खा अगाडि नै सम्पन्न गर्नुपर्ने लगायतका माग सहित ज्ञापनपत्र बुझाएको विश्वकर्माले बताउनुभयो ।
मृत्यु मार्गको रूपमा रहेको राजमार्गलाई भरपर्दो बनाउन युवा संघ पाल्पाका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
उपाध्यक्ष कृष्ण कार्कीले ज्ञापनपत्र बाचन गरेर सुनाउनुभयो ।
सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रदीप निरौलाले सम्बन्धित ठाउँमा तत्काल अनुगमन गरेर निर्माण कार्यालयलाई तीव्रता दिने बताउनुभयो । मर्मत गर्नुपर्ने अवस्थालाई हेरेर आवस्यक बजेटको व्यवस्था गरी राजमार्ग मर्मत गरिने उहाँले बताउनुभयो ।
यसअघि युवा संघको पहलमा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलासहित सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा यातायात क्षेत्रमा देखिएका समस्याबारे छलफल भएको थियो ।
जिल्लाका विभिन्न ठाउँमा धर्मकाँटा राख्ने, टिपरलाई टाइमकार्ड लागू गर्ने, बढी भार बोकेका सवारीसाधनको अनुगमन गर्ने, सवारी चालक सवारी धनीलाई नियमित रूपमा ट्राफिक नियमबारे सचेतनामुलक कार्यक्रम संचालन गर्ने, मादक पदार्थ सेवनबारे कडाइ रुपमा चेकिङ गर्ने सहमति भएको थियो ।
प्रकाशित : २०८० वैशाख ३१ गते १९:५३
Facebook Comment