पुर्वखोला,पाल्पा
३० श्रावण
आज भन्दा दश/पन्ध्र वर्ष अगाडी पुर्वखोलाका विभिन्न स्थानमा गहिरा रहहरु प्रशस्तै थिए । तर आजभोलि त्यस्ता रहहरु अस्तित्व लोप हुने अवस्थामा पुगिसकेका छन् ।
खोला बग्दै जाँदा खोलाकै कुनै ठाउँमा पानी जम्दा रह बन्छ । कुनै कुलो,पैनी वा नहरमा पानी लैजाँदा बाँध बाँधेको स्थानमा पनि रह बन्ने गरेको छ । खोलाहरुको धार परिवर्तन हुने घुमाउरा ठाउँहरुमा पनि रह बनेको देखिन्छ ।
पुर्वखोलाको चर्चित ‘रिङ्नेरह’ अहिले लोप भईसकेको छ । त्यहीँ रहको नामबाट स्थापित रिङ्नेरह’ गाविस हाल पुर्वखोला गाउँपालिका वडा नं.-३ अन्तरगत पर्दछ । आज भन्दा १०/१५ वर्ष अगाडी हालको गाउँ कार्यपालिका भवन भन्दा मुनि ठुली पिपलको छेउमै’ रिङ्नेरह’ थियो । वर्षा याममा मात्रै होइन हिउँदमा समेत भुमरी घुम्ने निकै डरलाग्दो रहलाई स्थानीयहरुले रिङ्नेरह भन्दा भन्दै गा.वि.स.को नाम नै रिङ्नेरह कायम भएको थियोे । हाल सो स्थानमा कुलो बनाईएको छ भने केही भाग चउरमा परिणत भएको छ । खोला त्यो भन्दा १० मिटर वर बाट बग्छ । आजभोलि सो स्थान हेर्ने हो भने त्यस ठाउँमा कुनैबेला रह थियोे भन्ने कुरा कसैले पत्याउने अवस्था छैन ।
त्यस्तै रिङ्नेरहदेखि करिब १ किमि तल ‘पाटेरह’ नामको रह छ । निकै गहिरो र ढुँगाको घाँगर समेत रहेको ‘पाटेरह’ निकै डरलाग्दो छ । तर आजभोलि रह साँगुरो बन्दै गएको छ । व्यवसायीहरुले जथाभावी जेसिबी लगाएर ढुँगा,गिट्टी र बालुवा निकाले पछि ‘पाटेरह’ को अस्तित्व पनि संकटमा परेको छ ।
त्यस बाहेक ‘लाबेरह’,देवप्रसादको आड,गोरेखोला दोभान रह जस्ता दर्जनौं रह तथा बाँधहरु अस्तित्व बिहिन बनिसकेका छन । कोहि ढुँगा माटोले पुरिएका छन भने कुनै रहहरु खोलाले बाटो परिवर्तन गर्दा लोप भईसकेका छन् ।
समाजको विकासक्रम संगै नदीजन्य पदार्थहरु (ढुँगा,गिट्टी,बालुवा) को अत्याधिक र अव्यवस्थित दोहनका कारण नै खोलानालाहरुको प्राकृतिक बहाब वर्षेनि परिवर्तन भईरहँदा धेरै रह तथा बाँधहरु संकटग्रस्त भएका छन । पुर्वखोला गाउँपालिकाले खोलाबाट ढुँगा/गिट्टी/बालुवा निकाल्ने प्रयोजनका लागि वर्षेनी टेन्डर आह्वान गर्दछ । ठेक्का पाउने व्यवसायीहरुले अव्यवस्थित रुपमा नदीजन्य पदार्थहरु निकालेका कारण खोलाको बहाब परिवर्तन हुने,खोला साबिक भन्दा गहिरिँदै जाने समस्या देखिन थालेका छन् । खोला गहिँरिँदै जाँदा पुर्वखोला फाँट,लाबे फाँट,सातबिसे लगायतका फाँटहरुमा सिंचाइ गर्न बनाईएका बाँधहरु सुक्न थालेका छन् । खोलाहरु जमिनको सतह भन्दा तल गहिरिदैं जाने र खेत खोलाको सतहभन्दा माथि उठेपछि सिंचाइका लागि कुलोमा पानी लगाउन समेत धौ हुन लागेको किसानहरु बताउँछन् ।
पहिले खोला बग्ने स्थान बगरमा परिणत भएपछि पानीका बाँध तथा रहहरु सुकेर अस्तित्व बिहिन बनेका मात्रै छैनन् ,जल पर्यावरण समेत असन्तुलित भईरहेको बुद्धिजीवीहरु माझ चर्चा हुने गर्दछ । त्यस्ता रह तथा बाँधहरुमा हिउँदमा खोला सुक्दा समेत पानी रहिरहने हुँदा जलचरहरुको सुरक्षित बासस्थान हुन् । तर आजभोलि रहहरु लोप हुँदै जाँदा माछा,भ्यागुता लगायतका जलप्राणीहरुको समेत अस्तित्व संकटमा परेको छ । हिउँदमा धारा,कुवा,पँधेरोमा पानी सुक्दा नुहाई-धुवाई गर्नका लागि समेत खोला आसपासका मानिसहरु त्यस्ता रहहरुमा आउने गर्थे तर आजभोलि पानी खोज्दै खोलाभरि धाउनुपर्ने बाध्यता स्थानीय युवाहरुले सुनाए ।
पुर्वखोलाकै नामबाट स्थापित पुर्वखोला गाउँपालिकाले खोला संरक्षणमा ध्यान दिनुपर्ने जनताहरु बताउँछन् । हाल खोलामा नदीजन्य पदार्थहरु लगभग सकिईसकेको अवस्थामा छ । त्यसैले तत्काल उत्खनन कार्य बन्द गरिनुपर्ने आवाज उठेको छ । २/४ वर्ष खोलालाई आफ्नै प्राकृतिक अवस्थामा छोडिदिने हो भने खोलाको पुरानो अवस्थामा केही सुधार अवश्य आउँछ । त्यसपछि फेरि केही समय नदीजन्य पदार्थ उत्खनन् अनुमती दिन सकिन्छ । उत्खननका लागि अनुमति दिँदा नियमित अनुगमन गरि मापदण्डअनुसार भए नभएको परिक्षण हुन सके अव्यवस्थित दोहन रोकिन्छ । यसरी व्यवस्थापन गरियो भने पक्कै पनि पुर्वखोलाको अस्तित्व जोगिन सक्छ कि ।
Facebook Comment