साथीको सामीप्यतामा रहेर रमाइलो महसुस गर्नुको बेग्लै आनन्द छ । आँसुको विनिमय गर्ने माध्यम त मित्रता नै हो भनेको छु अचेल । यो अतित पनि कस्तो सम्झनाको तरेली बनेर आइ दिन्छन् अनि नमिटिने डोप बनी नजिकै उभिएर जिस्क्याई रहे झै लाउँदो रहेछ ।
सत्य कथा केही वर्ष अगाडिको हो,सायद डेढ दशक भन्दा केही वर्ष गुज्रिएको हुनुपर्छ । बाल क्लबको जिम्मेवारी पदमा विभिन्न कार्यक्रम जस्तो गोष्ठी,तालीम,अन्तरक्रियाहरुमा सहभागिता जनाउने अवसर मिल्दो रहेछ । त्यस्तै क्रममा क्रममा इन्द्रेणी समाज केन्द्र झिरुबास,पाल्पाले आयोजना गरेको कार्यक्रमहरु मध्ये एक कार्यक्रमको एक दिन मेरो लागि अविस्मरणीय समय बन्न पुग्यो । त्यो बेलाको चन्चलता,रमाइलो गर्न मन पराउनेको समय । कसैलाई झुक्याउन सके ठूलै युद्ध जितेको महसुस गरिने । बाल क्लबको कार्यक्रम भने पछि हुरुक्कै हुने म । त्यस्तै हुरुक्कै हुने मध्ये मेरा साथी हुम बहादुर सारु । नामको पछाडि `मिलन´ पनि लेख्ने गर्थ्यो उसले । एक दिन साथीलाई धेरै झुक्याएको छु मैले । अहिले आएर त्यति साह्रो त गर्न नहुने मैले नि भन्ने गर्छु म आफैले । भरखर मात्र CDMA sky फोनको शुरूवात त्यतिखेर । मोबाइल फोन प्रति त्यति नजिक नभएको र खल्तीमा राख्न थालेको नि धेरै भएको थिएन हाम्रो । इन्द्रेणी समाज केन्द्रको कार्यक्रम भएको जानकारी बाल सहजकर्ता गम बयम्बु मगरले जानकारी गराउनु भए पश्चात् उसलाई नि मैले खबर गरें । भोलिपल्ट बिहान सबेरै झिरुबास गाविसको खादरमा जाने सल्लाह गर्यौ हामीले । त्यो बेला साविकको अर्चलेबाट म र ज्यामिरे गाविसबाट सारुले प्रतिनिधित्व गरेका थियौ हामीले । बिहान ५ बजे हिड्ने र भिरपानीमा जो पहिला पुगे पनि पर्खिने सल्लाह भो हामीमा । त्यो रात निन्द्रा देवीले खासै साथ दिएन मलाई कारण भोलिको त्यो लामो पैदलयात्रा कसरी जाने भन्ने कुराले । त्यो बेला मोटर भन्ने साधन अहिले जस्तो थिएन । गुड्ने बाटो नै बनेको थिएन । सरासर हिंडे पनि ५/६ घण्टा त ठ्याक्कै लाग्थ्यो । जुका र चिप्लेकिराको त्रास त कायमै थियो । भैगो गइन्छ भन्ने आँटिलो बिचार त मर्न दिएको थिएन । बिहान ५ बजे साथीको फोन आयो,हिड्ने सुरसार केही थिएन मैले हिडे है घरबाट भनेर ढाँटे । बिहान ६ बजे
घरबाट निस्के म,हिजो साथीसँग सल्लाह भएको भन्दा १ घन्टा ढिलो । समय-समयमा फोन गरि रहन्थ्यो उ । नारीभङ्ज्याङ्ग दिदीकोमा खाना खाने सोच्ले त्यहाँ पसे म । दिदीको घर खाना खाँदै गर्दा उसको फोन आयो म धोबला आइ पुगे है भनेर फेरि ढाँटे मैले । ताकि त्यहाँ पुग्न अझ १ घण्टा लाउथ्यो । उसले भन्दैथ्यो ल ल छिटो आउनुस है म त भिरपानी आइपुगें । हुन्छ भन्दै म नि हिडें त्यहाँबाट । भिरपानी पुग्न नि करिब २ घण्टा लाउथ्यो त्यहाँबाट । प्रतिक्षाको घडी लामो हुन्छ भन्ने राम्रोसँग बुझेको मैले उसलाई धेरै समय कुराएँ भन्दै हतार-हतार मेरा पाइलाहरु चलाउदैथें । छिनछिनमा फोनको घण्टी बजी रहेकोथ्यो उसैको फोन आएको होला भन्दै वास्ता गरेको थिएन फोनलाई । पसिना-पसिना भएर भिरपानी पुगे म नि,उसले पर्खेको ठाउँ पुग्नै लाग्दा मेरा पाइला बिस्तारै चल्न थाल्यो ताकि म आइ पुगेको संकेत कतैबाट उसले चाल नपाओस । सासको गतिलाई जबर्जस्ती रोकेर एउटा ठूलो ढुंगाको आडैबाट नियाल्द्न थालें । काँधमा झोला र एक हातमा १० ब्याण्डको कालो रेडियो र एक हातका आफ्नै उचाई बराबरको लठ्ठी लिइ चौरमा बस्दैथ्यो साथी । लठ्ठीले चौरमा हिर्काउदैथ्यो,मेरो रिस त्यो चौरलाई पोख्दै छ सायद उ । मैले उसले चाल नपाउने गरि फोन गरें,उसले रिसिभ गर्यो । कहाँ आइपुग्नुभो भन्दै त्यत्रो पटक फोन गर्दा नि रिसिभ नगरेको भन्दै गुनासो गर्दैथ्यो । मैले उसलाई माफ गर्नुहोला राजा म त घरमै छु,कार्यक्रममा जान त फुर्सद नै मिलेन,तपाईं एक्लै जानुस् न है यत्ति भन्दैथे जुरुक्क उठेर ठ्याट यस्तो घात गर्ने भन्दै उ हिड्न थाल्यो । मलाई भित्र-भित्र हाँसो आइरहेकोथ्यो अनि ए .. ए … म त यहीँ छु भनेर उसको पछि-पछि दौडे उसले फर्केर नि हेरेन मलाई ।
अलि पर पुगेपछि यति लामो समय पर्खन लगाउने,फोन गर्दा नि रिसिभ नगर्ने अझै मलाई ढाँट्ने भन्दै गुनासो गर्न थाले उसले ।
बाटो भरी खासै कुरा गरेन उसले । अरु बेला आफ्नो कुरा राखेर नथाक्ने साथी आज मैले जे सोधेको छु त्यसैको जवाफ मात्रै दिन थाल्यो । यसैगरी झिरुबासको खादर पुगियो जहाँ इन्द्रेणी समाज केन्द्रको प्रधान कार्यालय थियो (अझैसम्म नि छ) । मैले बाटोमा दिएको दु:खको नालीबेली सहजकर्ता गम बयम्बुलाई सुनाउन थाले । कार्यक्रमको सिलसिला मै केन्द्रका संयोजक रुद्र मश्राङ्गी लगायत अन्य साथीहरुलाई नि सुनाउने तरखरमा थियो उ । मैले नसुनाउन संकेत गरेसी उसको कुरा बिचैमा रोकि दियो ।
( निस्दीको ज्यामिरे भुटुकेलाई स्थायी बासोबास गर्दै आएको सारु होङ्सी शिवम सिमेन्ट कम्पनीले लिए पश्चात् हाल नवलपरासीको सर्दीमा बसाइँसराइ गएका छन् । उसले यो कुरो बिर्सेको छैन होला सायद अझैपनि । )
२५ पौष २०७८
निस्दी-६,अर्चले,पाल्पा ।
प्रकाशित : २०७८ पुष २६ गते १५:४३
Facebook Comment