प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

Kandara News
प्रकाशित : २०७७ पुष ११ गते २२:५२

ताप्लेजुङ, ११ पुस  ताप्लेजुङको पाथीभरा फेदीको बस्तीदेखि करिब ३ किलोमिटर पूर्वको जंगलमा डढेलो लागेको छ ।प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ ।

यो मन्दिरसम्म नै पुग्ने सम्भावना रहेको माथिल्लो फेदीका बासिन्दाले बताए । माथिल्लो फेदीको बस्ती भने डढेलोको जोखिममा नरहेको स्थानीय प्रशासनले बताएको छ । यो क्षेत्रमा बिहीबारदेखि नै डढेलो लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले नियन्त्रणमा लिएपनि शुक्रबार रातिबाट फेरि डढेलो सुरु भएको हो ।

चिसोका कारण धेरै होटल तथा लज बन्द भएको र जनशक्ति कम भएका कारण आगो नियन्त्रणका लागि समस्या प्रहरीले जनाएको छ ।
आगो बढ्दै गए पाथीभरा जाने पैदलमार्गमा पर्ने एउटा धर्मशाला र चौतारा, फलैंचा जोखिममा रहेको माथिल्लो फेदीका आशिस मिश्रले बताए ।

नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट टोली परिचालन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कर्मचारी नविन निरौलाले जानकारी दिएका छन् ।

आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली पनि सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ ।


प्रकाशित : २०७७ पुष ११ गते २२:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology