मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउने घलानको गए राति निधन

Kandara News
प्रकाशित : २०७७ पुष ८ गते १७:००

तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।
दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र हुनुहुन्थ्यो । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताउनुभयो ।
जीवनभर २५ गाडी बोक्नु भएका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गर्नुभएको थियो । उहाँले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्नुभएको थियो भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोक्नुभएको थियो । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।
आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाउनुभएको थियो । एक वर्षदेखि पक्षाघातले थलिनुभएका उहाँ घरमै बसेर आराम गरिरहनुभएको थियो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।


प्रकाशित : २०७७ पुष ८ गते १७:००

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology