नेपालिले जीते आइसिएन न्यू साउथ वेल्सले आयोजना गरेको नेचुरल बडी बिल्डीङ्ग कम्पिटिशनको उपाधि

रविन शर्मा चापागाईं
प्रकाशित : २०७७ कार्तिक २९ गते २१:३३

अष्ट्रेलियाको अबर्नमा बस्दै आइरहेका दिपेन्द क्षेत्रीले आइसिएन न्यू साउथ वेल्सले आयोजना गरेको नेचुरल बडी बिल्डीङ्ग कम्पिटिशनको उपाधि जितेका छन् । आइसिएन न्यू साउथ वेल्सले आयोजना गरेको प्रदेश स्तरीय च्याम्पियनशिपको उपाधि नेपालको रुपन्देही घर भएका क्षेत्रीले जितेका हुन् । पुरुष अन्तर्गतको फिटनेशको ४ डिभिजनमा सहभागि भएका उनले ४ वटै भागमा प्रथम भएका हुन् । चारवटै विधामा जितेपछि उनले ओभरअल ट्रफी समेत जित्न सफल भएका छन् ।

सन २०१५ मा अष्ट्रेलिया अध्ययन भिषामा आएका उनको यो फिटनेस प्रतियोगीतामा पहिलो डेब्यू हो । पहिलो डेब्युमै उनले भव्य नतिजा हासिल गर्न सफल भएका हुन् । यो जित सँगै उनले राष्ट्रिय प्रतियोगीताको यात्रा तय गरेका छन् । आउने ६ डिसेम्बरमा हुने राष्ट्रिय फिटनेस प्रतियोगीतामा आइसिएन नेपाल र न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछन् । देशका सबै प्रदेशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगीताको उपाधि जित्न सफल भएको खण्डमा उनले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो खेलको यात्रा तय गर्न सफल हुनेछन् । जसबाट नेपालको नाम समेत उनले देशविदेशमा रोशन गर्न सक्ने भएका छन् ।

दिपेन्द्र फिटनेस अर्थात फिजिकमा आफ्नो प्रमुख लक्ष्य र प्राथमिकता रहेको बताउँछन् । ५ बर्ष अघि अष्ट्रेलिया आएका उनको २ बर्ष अध्ययनमै बित्यो । त्यसपछि २ बर्ष जति पिआरमा खर्च भयो । जसका कारण फिटनेसमा पूर्ण रुपले केन्द्रित हुन नपाएका उनी पछिल्लो एक बर्ष देखी नियमित जिम गइरहेका छन् । लण्डन नेपाल न्यूज सँग कुरा गर्दै उनले यस उपाधिले आफुलाई यस विधामा अझ धेरै हौसला मिलेको बताउँदै आगामी दिनमा यसैमा बढी केन्द्रित भएर अघि बढ्ने बताए । “आइसिएन नेपालका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ, उपाध्यक्ष प्रा श्रेष्ठ लगायत कोच सुजन सिल्पाकारले मलाई निकै ठूलो साथ र सहयोग अनि हौसला दिनुभयो” उनले भने, “अब यसमा लागिरहेको छु, नेशनल खेल जित्न सकेको खण्डमा प्रोकार्ड पाइन्छ, जसले नेपालकै तर्फबाट इन्टरनेशनल खेलमा पनि सहभागि हुन सकिन्छ”। उनले फिटनेसको सुरुवात नेपालमै गरेको भन्दै अब यही बाटै अगाडी बढ्ने सोँच रहेको जानकारी दिए ।
मानिसलाई फिट रहन उनको सुझाव
आजकल मानिसहरुको शरीर फिट नहुने समस्या निकै बढेको देखिन्छ । यस विषयमा उनले हामीहरुले चिल्लो र मसलेदार खानाको सेवन बढी गर्नु मुख्य कारक रहेको बताउँछन् । “नेपालीहरुमा सचेतना नभएको पनि होइन, तर चाहेरै पनि ब्यक्तिहरुले आफुलाई फिट राख्न नसकेका हुन्छन् । सबैभन्दा ठूलो कुरा स्वस्थ्य नै हो । जिम गर्नु भनेकै आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्न निकै महत्वपूर्ण हुन्छ।” उनले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको कारण केही समय जिम जान र शरीर फिट राख्न पनि दिन उनले सुझाव दिए ।


प्रकाशित : २०७७ कार्तिक २९ गते २१:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology