प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव,बुटवलमा विरोध प्रदर्शन सुरू

Kandara News
प्रकाशित : २०७७ असोज १६ गते २०:१५

१६ असोज,बुटवल।प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेश गरिएसँगै बुटवलमा विरोध प्रदर्शन सुरू भएको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए। मन्त्री केसीले प्रदेश सभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा  अर्घाखाँचीको शीतगंगा गाउँपालिका लाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो। नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ।अहिले पनि नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन्। त्यस्तै बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड भएको छ। त्यस्तै  लु १ झ ४२९, लु १ झ ४४९ र लु १ झ ४४५ नम्बरका गाडीमा पनि तोडफोड गरिएको छ। यी गाडी प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूले प्रयोग गर्ने गर्थे। आन्दोलनरत समूहले गाडी तोडफोड गरेको स्थानीयले जनाएका छन्। गाडी तोडफोड भएलगत्तै प्रहरी पुगेको कारण गाडीमा धेरै ठूलो क्षति हुन नपाएको बताइएको छ। प्रदर्शन हुन थालेपछि बुटवलमा  ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।  प्रदेश सरकारले राजधानीको विषय निर्णय गरेसँगै बिहानैदेखि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो।  आज बिहानै नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो।  राजधानीको विषय टुंगो लागेपछि हुन सक्ने आन्दोलन र असन्तुष्टिलाई नियन्त्रण गर्न बाहिरी जिल्लाबाट समेत प्रहरी झिकाइएको स्रोतले जनाएको छ। आन्दोलन हुनसक्ने अवस्था देखिए कर्फ्यू लगाएर भए पनि प्रदेश राजधानी घोषणा गर्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ।


प्रकाशित : २०७७ असोज १६ गते २०:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology