नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरुमध्ये सबैभन्दा ठुलो जगदिशपुर ताल

Kandara News
प्रकाशित : २०७७ असोज १२ गते २३:१२

जगदिशपुर ताल ,कपिलबस्तु
प्राचीन भागीरथी हाल बाँणगँगा नदिको नामले परिचित नदिको लक्ष्मणघाटमा बाँध निर्माण गरी यस तालमा पानी ल्याइएको छ । यो ताल नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरुमध्ये सबैभन्दा ठुलो ताल हो । यो ताल कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, तथा शाक्य बँशीहरुको सामुहिक बध गरिएको सग्रहवा(लम्बुसागर) तालदेखी करिब ३०० मिटर उत्तर, कपिलबस्तु नगरपालिका वडा नँ ९ र १० स्थित जगदिशपुर भन्ने ठाउँमा अवस्थित रहेको छ । करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ । ४,७५०,००० घन मिटर क्षमता रहेको यो तालको गहिराइ ३ मिटर रहेको छ । सन् २००३ सालमा रामसार सुचीमा सुचीकृत भएको यो ताल कपिलबस्तु जिल्लाको महत्वपूर्ण धरोहर हो । यस तालमा ४६ प्रजातिका माछा,घस्रने प्रजातिका ४२ उभयचर प्रजातिका १० तथा स्तनधारी समुहका समेत प्राणीहरु रहेका छन । साथै यहाँ गर्मि याममा बसाई सर्ने ७ प्रजाति,जाडो याममा बसाई सर्ने ६४ प्रजाति र अन्य रैथाने प्रकृतिका प्रणीहरु रहेका छन । विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चराहरु प्रशस्तमात्रामा आउने गर्दछन । यस्ता आगन्तुक चराहरु जाडो तथा गर्मी मौसम छल्न आई पुन आफ्नै मुलुक फर्कने गर्दछन । विभिन्न प्रजातिका जलचर तथा थलचर प्रजातिका प्राणीहरु प्रशस्त पाइने यस तालमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन । यस ताललाइ जलचर तथा थलचर एवम चराहरुको अध्ययन स्थलको रुपमा समेत विकास गर्न सकिने प्रशस्त सँभावना रहेको छ । यस तालको चारैतिर पुरातात्विक अवषेशहरु समेत भएको पाइएको हुँदा यस क्षेत्रको गरुयोजना बनाइ विकास गर्न जरुरी देखिन्छ । हाल यस स्थानमा छिटफूट रुपमा अतिथि गृहहरु समेत स्थापना भएका छन भने यस तालको पश्चिममा होमस्टे समेत सञ्चालनमा रहको छ ।
अन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषण केन्द्रको रुपमा रहेको यस तालको जैविक विविधता कायम राख्दै स्तरोन्नति गर्न जरुरी रहेको छ । नेपालकै एक प्रमुख गन्तब्य रहेको यस कपिलबस्तु जिल्लामा अवस्थित रहेको कारण पनि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन सकिने प्रशस्त सम्भावना रहेको छ । प्रदेश नँ ५ सरकारको प्रमुख गन्तब्य सुचीमा पर्न सफल भएको हुँदा विकासले गति लिने अपेक्षा गरिएको छ ।


प्रकाशित : २०७७ असोज १२ गते २३:१२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology