अधुरो एउटा प्रेम..
प्रकाशित : २०७७ भदौ ३० गते २०:१७
अधुरो एउटा प्रेम……..लेखक.सिंजाली मगर
‘ओइ, था पाइस् ?’ आकृतिले सुस्मालाई फोनमा हस्याङ फस्याङ गर्दै सोधी ।
‘किन के भयो र ? किन त्यसरी आत्तिएकी ?’ सुस्माले प्रश्न गरी ।
‘आशाले सुसाइड गरी रे ।’ आकृति आत्तिदै सुस्मालाई भन्छे ।
आबुई……….
होइन के भन्छे यो ? तेरा दिमाग त ठीक ठाउँमा छ ?
सुस्मा आत्तिँदै आकृतिलाई गाली गर्छे ।
हेर, मैले पनि भर्खरै थाहा पाएको पुलिस आको छ रे उसको घरमा, खै अरु मलाई त था नै भएन, आइज जाऊँ उसको घरमा ।
‘हुन्छ, म आइहाले है । पख है ।’ भन्दै सुस्मा फोन काट्छे ।
फोन राख्दै सुस्मा आकृतिको घरतर्फ लाग्छे आशाको घर जानका लागि ।
आशाको घरमा रुवाबासी थियो, आमाबाबा बेहोस थिए ।
घरभरी टन्नै आफन्त र छिमेकी ।
पुलिसले आशाको लासलाई झुन्डिएको स्थानबाट आँगनमा ल्याएर राखेको ।
आफ्नो मिल्ने साथीको त्यो निर्जीव शरीर आकृति र सुस्मा दुवै जना भक्कानिन्छन् ।
द”वैलाई आशालाई अँगालो हालेर रुन मन थियो ।
उसलाई छुन पनि पुलिसले दिइरहेको थिएन । ‘लासलाई नछुनुस् है, अनुसन्धान गर्नुपर्छ हामीले, पोष्टमार्टम गरेपछि शव दिन्छौं ।’ एक जना पुलिसले भनिरहेको थियो कोही आशालाई छुन जान खोज्दा ।
त्यही भीडमा कोही भन्दै थिए, ‘आशाले विवाह गर्न नमान्दा पनि परिवारले जबरजस्ती विवाह गराउन खोजिरहेका थिए ।’ त कोही भन्दै थिए, ‘उसलाई आफ्नो केटाले धोका दियो रे ।’
आकृति र सुस्मा यी कुरा सुनिरहेका थिए ।
तर बोल्ने अवस्थामा भने थिएनन् ।
किन कि उनीहरुले सबैभन्दा मिल्ने साथीलाई गुमाएका थिए ।
यसका बीचमा पनि आशाले किन आत्महत्या गरी ?
अहँ……..
सुस्मा आकृति मात्र होइन, कसैलाई थाहा थिएन ।
अनुसन्धान हुन बाँकी थियो । तर समाज न हो, विभिन्न लख काटिरहेका थिए मान्छेहरु ।
यहाँ आफ्नो छोरी अकालमा गुमाउँदा अचेत रहेका आमाबाबाको दुखभन्दा उनीहरुको लख ठीक थियो समाजका लागि ।
घरमा रुवावासी बाहेक केही सुनिएकै थिएन ।
घाम नलागेर तुवाँलो लागिरहेको । आँसुका रुपमा पानी झार्न खोजे पनि नसकिएर धुम्म परेर हेरिरहेको आकाश । लाग्थ्यो, आशाले सदासदाका लागि संसार छोड्दा आकाशले पनि दुख मनाउ गरिरहेको छ ।
यहीबीच एक जना युवाको घटनास्थलमा प्रवेश हुन्छ अचानक ।
ती युवक अरु कोही नभएर संयोग थिए ।
उही संयोग जसले आशालाई आफ्नो बनाउन आकाश पाताल एक गरेर दुनियासँग भिडिरहेका थिए, हार मानेका थिएनन् । संयोगको मनमा थियो, एक दिन आशा पक्कै पनि मेरै हुन्छे ।
संयोगलाई खबर सुनेदेखि नै विश्वास थिएन, उसकी आशाले यो संसार र उसलाई कहिले नफर्किने गरेर गइसकेकी छे ।
अहँ…….
पटक्कै विश्वास थिएन ।
संयोग आशालाई अन्तिम पटक हेर्न चाहन्थ्यो । तर पुलिसले अनुसन्धानका लागि अवरोध हुने भन्दै छुन त के, उसको शवलाई हेर्न पनि दिएको थिएन । संयोग आशालाई अन्तिम पटक हेरेर बिदाई गर्छु भन्दै पुलिससँग अनुनय विनय गरिरहेको थियो । तर उनीहरु मानेनन् ।
यत्तिकैमा आशाको आमा बाबाको आँखा संयोगमाथि पर्छ ।
ऊ त्यही संयोग थियो जसले उनीहरुकी छोरीलाई सबैभन्दा बढी माया गथ्र्यो ।
तर उनीहरुले बुझेनन्, न त संयोगको आमाबाबाले नै उनीहरुको मायालाई बुझ्ने कोसिस ग¥यो ।
………
पुलिस आशाको शवलाई पोष्टमार्टमका लागि भन्दै लिएर जाँदा संयोग भने अतीतका धरातलमा हराइरहेको थियो, त्यही अतीत जुन दिन उसले आशालाई पहिलो पटक देखेको थियो ।
आशा शारीरिक रुपमा खासै राम्री थिइन ।
पढाईमा भने अब्बल ।
उसको बोल्ने तरिका, बानी र व्यवहारले सबैलाई मन्त्रमुग्ध बनाउँथ्यो ।
हरेकलाई ऊ आदर, सत्कार गरेर बोल्थी ।
त्यो दिन ऊ पहिलेको विद्यालय छोडेर संयोग पढ्ने विद्यालयमा कक्षा ८ मा भर्ना भएर आएकी थिई ।
एउटै कक्षामा भएकाले आशा र संयोगबीच देखादेख भए पनि बोलचाल भएन । त्यो दिन त्यसै बित्यो ।
शिक्षकले परिचय माग्दा आशाको जवाफ र सम्मान गरेको देख्दा संयोगलाई निकै राम्रो लागेको थियो पहिलो दिन । तर त्योभन्दा बढी होइन ।
संयोगको विद्यालयमा आएपछि मात्र उसलाई थाहा भयो, आशा त पढाईमा मात्र होइन, नाच्नमा पनि अब्बल रहिछ ।
विद्यालयमा हुने विभिन्न कार्यक्रममा उसैले नाच्थी ।
यो देखेर विद्यालयका हरेक शिक्षक आशाको प्रतिभाको मुक्तकण्ठले प्रशंसा गर्थे ।
दिन बित्दै गए । कक्षामा उनीहरु राम्रो साथी पनि बन्न सकिरहेका थिएनन् ।
हाइ, हेल्लो बाहेक आशा र संयोगबीच कुराकानी अगाडि बढेकै थिएन । आशा आफ्नी मिल्ने साथी सुस्मा र आकृतिसँग हिँडिरहेकी हुन्थी । संयोग पनि आफ्नो साथी विराजसँग हुन्थ्यो ।
घर जाने बाटो एउटै भएपनि उनीहरुबीच सम्बन्ध अगाडि बढिरहेको थिएन ।
हरेक दिन एउटै कक्षामा बसेर बढ्थे, अनि घर जान्थे उनीहरु ।
समयले नेटो काट्दै गयो । कक्षा ८ को परीक्षा आउने समय हुँदै थियो । आशाले अंग्रेजी र गणितको ट्युसन पढ्ने भई १ जना चिनेकै शिक्षकसँग ।
भावीको खेल भनौं या फरी अरु नै केही, संयोग पनि उही शिक्षकसँग ट्युसन पढ्ने भयो । तर यो कुरा दुवैलाई थाहा थिएन । उनीहरु त ट्युसनका लागि शिक्षकको घरमा जाँदा बल्ल अलमल्ल परे ।
पढ्ने ठाउँमा एकअर्कालाई देखेपनि अक्क न बक्क परेजस्तो लागेपछि शिक्षकले नै उनीहरुलाई ‘अब तिमीहरु मसँग पढ्दै छौ, परीक्षा आउन लागिसक्यो, ध्यान दिएर पढ ।’ भने ।
एकअर्कालाइै हेर्दैमा व्यस्त उनीहरु शिक्षकले केही भने जस्तो लागेपछि मात्र झसंग भए ।
घर आउने जाने बाटो पनि उही, त्यो पनि जाडोको समयमा ट्युसन जानुपर्ने ।
बिहानै अलि अँध्यारो पनि हुने, आशालाई साथी पनि भयो ट्युसन जान ।
अनि सुरु भयो उनीहरुको दोस्ती बल्ल ।
ट्युसनका लागि उनीहरु एकले अर्कालाई कुर्न थाले बाटैमा ।
सँगै आउने जाने भएपछि उनीहरुको सम्बन्ध अगाडि बढ्दै गयो । अब आशा र संयोग कक्षाकोठामा मात्र होइन, ट्युसन आउँदा जाँदा पनि हरेक समय सँगै हुने भए ।
यसरी हरेक पल जस्तै सँगै हुन थालेपछि संयोगले आशालाई आफ्नो मनमा सजाउन थाल्यो ।
त्यो बेला भर्खर कक्षा ८ मा पढिरहेका उनीहरुलाई आफूहरु एकअर्काको लागि नै बनेको हो भन्ने भइसकेको थियो । एकअर्कालाई म तिमीलाई माया गर्छु, आइ लभ यु जस्ता शब्दको प्रयोग बिना नै उनीहरुको सम्बन्ध अगाडि बढेको थियो । तर पनि एकअर्कालाई देखे बिना विद्यालयमा दुवैको मन मान्दैनथ्यो ।
आशाले प्राय विद्यालय छुटाउँदिनथी । तर संयोग कहिलेकाहीं विद्यालय आउँदैनथ्यो । त्यो समयमा आशा निकै छट्पटाउँथी । यसलाई एउटा विषयको कक्षा लिन पनि सकस हुन्थ्यो ।
एउटै विद्यालय, त्यो पनि एउटै कक्षामा पढ्ने भएकाले उनीहरुले एकअर्कालाई चिठ्ठी कहिले पनि लेखेनन् । त्यो बेलामा फोनको चलन पनि खासै थिएन । एक अर्कालाई इशारामा नै कुरा गर्ने आशा र संयोग ।
ट्युसनबाट नजिकिएको उनीहरुको सम्बन्ध बिस्तारै अगाडि बढ्दै थियो । तर यो सम्बन्धका बारेमा कसैले सुइँको पाएनन् । न त पढाउने शिक्षकले नै भेउ पाए, न त आशाका साथी आकृति र सुस्मा । न त संयोगका साथी विराजले नै थाहा पाए ।
सबैभन्दा पहिले उनीहरुको लागि पढाई र आफुनो जिम्मेवारी थियो । पढाई पुरा गरेपछि मात्र आफ्नो सम्बन्धको बारेमा साथीलाई भन्ने सर्त नै थियो आशा र संयोगको । र दुवैले यो सर्तलाई मनदेखि नै निभाए पनि ।
कसैले सुइँको नपाउने गरी कक्षा ८ मा हुँदा पढेको ट्युसनबाट अगाडि बढेको उनीहरुको सम्बन्धका बारेमा आकृति, सुस्मा र विराजले एसएलसी दिने समयमा मात्र थाहा पाए ।
‘आई आशा……तैंले हामी यस्तो मिल्ने साथी भएर पनि संयोग र आफ्नो बारेमा २÷३ वर्ष कसरी लुकाइस् ? हामीलाई भनेको भए पनि तिमारुको सम्बन्धमा टाङ अडाउन आँउन्नथ्यौं क्यारे हामी ।’ सुस्मा र आकृतिले उनीहरुको सम्बन्धको बारेमा थाहा पाएपछि यसरी नै भनेका थिए ।
‘त्यस्तो होइन । तिमारुले त बुझ्ने कोसिस गर न हो, हाम्रो सम्बन्धलाई । दुवैलाई थाहा छ त हाम्रो बारेमा । नरिसाओ न । अब त थाहा भयो, माफ गर्दे दुइटैले ।’ यसरी नै माफी मागेकी थिइ सुस्मा र आकृतिसँग आशाले त्यो समयमा ।
‘भयो केटी । माफी माग्नु पर्दैन । जिस्काको मात्र हो बरै । क्यार्नु त नि ? साथी होस् जिस्काउन मन लाग्छ ।’ सुस्मा र आकृतिले पनि भनेका थिए ।
कहिले झगडा गर्नु । एकअर्कालाई फकाउनु । कहिलेकाहीं सबैसँग मात्र साथी जस्तो गरेर भट्नु । कहिलेकाहीं उनीहरु आफ्नो घरको वातावरणको बारेमा पनि कुरा गर्थे । उनीहरुलाई लाग्थ्यो, उनीहरुको माया र सम्बन्धलाई दुवैको परिवारले कहिले पनि स्वीकार गर्दैन । यसरी नै सुख, दुख आँसु, हाँसो सँगै अगाडि बढेको थियो आशा र संयोगको माया ।
एसएलसी दिएर बसेका उनीहरु फुर्सदमा थिए । सबैजना कहिले घुम्न जान्थे त कहिले रमाइलो गर्दै नाच्थे पनि । सुरुमा नाच्न त आशा नै अगाडि बढ्थी । गाउँघरमा हुने कार्यक्रममा पनि आशा नै नाच्ने गर्थी । रमाइलो गर्दै बित्यो त्यो फुर्सदको ३ महिना ।
एसएलसीको रिजल्ट पनि आयो । आशाको राम्रै प्रतिशत आएपनि संयोगको सोचे जस्तो भएन ।
तर परीक्षामा पास भएपछि दुवैको खुसीको सीमा भएन । एकअर्कामा खुसी साटासाट गरे ।
सुस्मा, आकृति र विराजको पनि रिजल्ट सोचे जस्तै आयो । पास हुने आश थियो उनीहरुलाई, भयो पनि त्यही ।
सबै जना पढ्न सहर जाने भए ।
आशाका आमाबाबा छोरीलाई पढाएर नर्स बनाउन चाहन्थे । आशाको पनि त्यही इच्छा थियो । एउटै सन्तान भएकाले पनि आशाले आमाबाबाको चाहना पुरा गर्नैपथ्र्यो ।
यता संयोग पनि कमर्स लिएर पढ्न सहर जाने भयो ।
दुवैको गन्त्व्यस्थल पोखरा नै थियो । उनीहरु आ–आफ्नो लक्ष्य लिएर पोखरा हिँडे क्याम्पस भर्ना हुन । सहर जाने भने पनि सुस्मा र आकृतिलाई घरबाट जान दिएनन् । गाउँकै क्याम्पसमा पढ्नुप¥यो ।
सहर आउनुभन्दा अगाडि दुवैका आमाबाबाले आशा र संयोगलाई सामान्य कुरा मात्र गर्न मिल्ने फोन किनिदिए । यत्ति भएपछि दुवैको फोन नम्बर साटासाट भयो । फोन पाएपछि त पोखरामा उनीहरुको सम्बन्ध झन् बढ्दै गयो । सम्बन्ध जारी भएपनि पढाईलाई उनीहरुले कहिले हेलचक्र्याँई गरेनन् ।
पढाई सकिएपछि फोनमा कुरा हुन्थ्यो ।
कहिलेकाहीं दुवै जना भेटेर कतै घुम्न जान्थे ।
आफ्नो र भविष्यका बारेमा कुराकानी गर्थे । अनि परिवारले सम्बन्ध थाहा पाएपछि स्वीकार गर्दैनन् भन्ने विषयमा आशा र संयोगको छलफल बढी हुन्थ्यो ।
पोखरामा बसे पनि यहाँको हावापानीले दुवैलाई छुन सकेन ।
कक्षा ८ देखिको उनीहरुको मायाको सम्बन्ध झन् बढ्दै थियो ।
यसरी नै दिन बित्दै गए । तर आशा र संयोगको सम्बन्धका बारेमा उनीहरु दुवैको परिवारलाई थाहा थिएन ।
उनीहरुको आमाबाबा पनि छोरोछोरीलाई भेट्न कहिलेकाहीं पोखरा नै आउँथे ।
छोराछोरीको कोठामा नै बस्थे ।
आमाबाबा न परे । छोराछोरीले के गरिरहेका छन् भन्ने कुरा थाहा पाउन उनीहरुलाई त्यति धेरै बेर लागेन ।
आशा र संयोग पढाई सकेपछि फोनमा व्यस्त देख्थे उनीहरुका आमाबाबा ।
पढाईमा पनि दुवैले राम्रै गरिरहेका थिए । प्रश्न गर्ने हिम्मत भने गरिरहेका थिएनन् ।
पढाईलाई अगाडि बढाइरहेका भन्दै केही समय त उनीहरुका आमाबाबाले सोधेनन् ।
तर १ दिन……
‘ओई । आशा के हो हँ तेरो पारा ? पढाई सकेपछि त पुरै फोनमा झुण्डिरहन्छस् । चालामाला ठीक छैन नि तेरो । के हुँदै छ हाँ, पढाईमा ध्यान दिनुपर्दैन भन्या ?’ आशाकी आमाले उसलाई फ्याट्टै सोधिन् ।
यति सुनेपछि आशाको सात्तो गयो ।
‘होइन आमा । साथीले भोलि घुम्न जाउँ भन्दै छ, म जान्न भनेर खबर गरेको मात्र हो ।’ आशाले त्यो बेला यति जवाफ दिन सकी । योभन्दा बोल्ने हिम्मत नै भएन उसलाई ।
संयोगलाई त्यस्तो प्रश्नको सामना आशालाई धन्दा केही ढिलो गर्नुप¥यो । तर अलि घुमाउरो पाराले ।
‘हेर संयोग छोरो, तँलाई हाम्रो परिवारको अवस्थाका बारेमा जानकारी छँदैछ । तँ नै होस् हामीलाई हेर्ने । यसरी फोनमा झुण्डिएर पनि राम्रो पढाई हुन्छ र ? बरु पढाईमा ध्यान दे है । दायाँबायाँ लाग्ने होइन ।’ संयोगलाई उसको बाबाले यसरी नै भनेका थिए ।
झन् संयोगले त हुन्छ मात्र भन्न सक्यो त्यो दिनमा ।
दिन बित्दै गए । सबैको जीवन आ–आफ्नै तरिकाले चलिरहेको थियो ।
अहिलेसम्म कसैलाई थाहा नभएको आशा र संयोगको सम्बन्धका बारेमा गाउँमा चर्चा हुन थालेछ । उनीहरु घुम्न गएको बेला कोही छिमेकीले देखेर उनीहरुको घरमा भनिदिएछन् ।
अब आशा र संयोगलाई पर्नु पीर प¥यो ।
आशा त केटी मान्छे एसएलसी दिने बित्तिकै घरमा केटा माग्न आको आइ थियो ।
तर कहिले पढ्ने त कहिले उमेर भएको छैन, जागिर गरेर मात्र बिहे गर्छु भन्दै टारिरहेकी हुन्थी । यसैगरी बिहे टार्दै जाँदा पनि उसका आमाबाबाले केही भनेनन् । तर जब संयोगसँगको आशाको सम्बन्धका बारेमा उनीहरुले जानकारी पाए, छाँगाबाट खसे जस्तै भए ।
पहिले त विश्वास लागेन । त्यसपछि लागे आशाका मिल्ने साथी आकृति र सुस्मालाई भेट्न । उनीहरुले पनि राम्रोसँग जवाफ दिइरहेका थिएनन् । तर बढी नै कर गर्न थालेपनि सुस्मा र आकृति पनि आशा र संयोगको सम्बन्धका बारेमा सबै कुरा भन्न बाध्य भए ।
सबै कुरा थाहा भएपछि मात्र आशालाई उसको आमाबाबाले बिदा मागेर तुरुन्त घर आउन भने ।
आशालाई थाहा थिएन कि उसको र संयोगका बारेमा आमाबाबाले थाहा पाइसकेका छन् र घरमा पुगेपछि घमाशान हुनेवाला छ ।
फोनमा घर आउन भनेपछि पहिले त बिदा दिन्न, आउन सक्दिन भन्दै थिई । तर उसलाई आमाले जसरी पनि आइज भनेर कर गरेपछि बिदा मागेर घर जान तयार भई ।
घरमा त पुगी आशा । तर सुनसान थियो । पहिले–पहिले घर जाँदा उसलाई देख्ने बित्तिकै खुसी हुने आमाबाबा आज पुरै दुखी र रिसको मुद्रामा थिए ।
यो सबै के भइरहेको छ, आशालाई थाहा नै थिएन ।
घरमा पाइला टेक्ने बित्तिकै आशालाई आमाले तानेर जबरजस्ती घरभित्र लगिन् । उनीहरुको पछिपछि बाबा पनि आए । दुवै जना आशालाई रिस पोख्न तयार थिए ।
‘तँलाई यत्रो विश्वास गरेर पढ्न पोखरा पठायौं । एउटी सन्तान, पढाईमा अब्बल भनेर जे मायो त्यही दियौं । तर आज हाम्रै इज्जत फालिस् हैन ?’ भन्दै आमा बर्बराइन् । तर आशाले अहिलेसम्म भेउ पाइरहेकी थिइन ।
त्यसपछि बल्ल बाबाले मुख खोले, ‘तँलाई अरु कोही नभएको जस्तो गरेर त्यही संयोगसँग हिड्नुपर्ने ? अरु केटाको अभाव थियो तँलाई यो संसारमा ? संयोग जैसी र हामी उपाध्याय हौं भन्ने थाहा पाइनस् तैंले ? विवाह गर्न मिल्दैन भन्ने कुरा तँलाई थाहा थिएन, उसले छोको त भान्सा पनि चल्दैन हाम्रो । कसरी छोरी दिनु ?’ उसको बाबा एकनास बोलिरहेका थिए ।
यति के सुनेकी थिई आशाको होस् सवास् उड्यो ।
केही भन्ने मौका नै पाइन उसले ।
उसले आमाबाबालाई सम्झाउने धेरै कोसिस गरी । तर सकिन कसै पनि । आमाबाबाको जित थियो, अब आशाले संयोगलाई कहिले नभेट्ने र सम्बन्ध पनि अगाडि नबढाउने । यत्ति हो भने मात्र पढ्न जान पाउने भई आशाले । जे भए पनि सहर उसलाई जानु नै थियो । त्यसैले पनि झुठै भए पनि आमाबाबाले भनेको माने जस्तै गरी उसले ।
तर मन नै हो । बच्चादेखिको माया आशाले बिर्सन सक्ने अवस्था पनि थिएन र बिर्सन पनि चाहन्थिन् संयोगलाई उसले ।
ऊ सहर गई । पढ्नमा मन लागिरहेको थिएन । घरमा भएको त्यति धेरै कुरा संयोगलाई कसरी भन्ने त्यो पनि थाहा थिएन ।
यता संयोग लगातार आशालाई फोन गरिरहेको थियो । फोन उठिरहेको थिएन ।
कता कता डर लाग्न थाल्यो संयोगलाई ।
आशाको कोठा उसलाई थाहा थियो र पढाई पुरा भएपछि आशालाई भेट्न गयो संयोग ।
संयोगलाई अगाडि देखेपछि आशाको शब्द बाहिर निस्किएन । के भन्ने के नभन्ने, दोधारमा थिई ऊ । त्यो बेला संयोगको अगाडि रुन मात्र सकी आशा ।
‘के भो आशा ? किन यस्तरी रोएकी तिमी ? मलाई डर लाग्न थाल्यो है, छिटो भन है नरोएर । मलाई डर लागिसक्यो ।’ संयोगले आशालाई साध्यो ।
आशाले उसको घरमा भएको सबै कुरा भनी संयोगलाई ।
सबै सुनेपछि संयोगको दिमागले काम गरेन केही बेर ।
आशालाई, ‘भयो अब नरोऊ । सबै कुरा म मिलाउँछु ।’ भनिरहेको थियो । तर मिलाउने पो कसरी ? ऊ आफैं पनि दोधारमा प¥यो ।
घरमा संयोगलाई आशाको विषयमा केही समस्या भएपनि सम्झाउन सकिन्छ जस्तो लागेको थियो त्यो बेलामा ।
आशालाई म मेरो घरमा गएर कुरा गर्छु, चिन्ता नगर भन्दै संयोग आफ्नै कोठामा गयो ।
उसको घरमा पनि उनीहरुको सम्बन्धका बारेमा जानकारी थियो । सोध्न भने कसैले सोधेनन् ।
आशाबाट सबै कुरा सुनेपछि संयोग भोलिपल्ट नै क्याम्पसबाट बिदा मागेर घर गयो ।
घर पुग्दा उसको आमाबाबाको आँखामा उसको लागि प्रश्नै प्रश्न थियो । मानौं उनीहरु धेरै कुरा सोध्न चाहन्छन्, तर सोध्न सकिरहेका छैनन् ।
संयोगलाई उसको आमाबाबाले घरभित्र लगे । केही समय कोही बोलेनन् । सुनसान भयो भीडमा पनि ।
त्यसपछि बल्ल बाबाले मुख खोले, ‘हेर केटा । तँ जे भन्न घर आएको होस्, त्यसको बारेमा हामीलाई सबै थाहा छ । हामीलाई आशासँग समस्या भए पनि तँ खुसी हुन्छस् र छस् भने हामी उसलाई अपनाउँछौं । तर उसको घरपरिवारलै दिंदैन । यो तँलाई पनि थाहा छ । बरु उसलाई बिर्सेर आफ्नो भविष्य सपार ।’
संयोग सुनिरहेको थियो एकनासले । प्रतिक्रिया दिए पनि के दिने भन्ने थियो यसलाई ।
‘यतिका वर्षसम्म तैंले हामीलाई यो विषयमा सबै लुकाएर राखिस्, तँलाई थाहा छ, आशा उपाध्याय हो र हामी जैसी । आशालाई उसको आमाबाबाले के–के भनेका छन् भन्ने पनि हामीलाई थाहा छ । आमाबाबाले हुन्छ नभनेसम्म ऊ तेरो बन्दिन र उनीहरुले हुन्छ भन्नु आकाशको फल आँखा तरी मर भने जस्तै हो । अब जे गर्छस् गर । हाम्रो भन्नु यही नै हो ।’ संयोगलाई आमाले पनि यत्ति मात्र भनिन् ।
आमाबाबाको एकनासको बोली संयोगले सबै सुनिरहेको थियो ।
उसलाई कुन सही कुन गलत भन्ने थाहा नै भएन । दोधारमा प¥यो, के गर्ने के नगर्ने भन्ने विषयमा नै ।
परिवारको कुरा पनि सही थियो, आशालाई कुनै पनि हालतमा उनको परिवारले संयोगको हुन दिन्न ।
आशालाई उसले चाहेर पनि भुल्ने अवस्था थिएन । वर्षौंको मायाको डोरी त्यसै चुड्ने अवस्थामा थिएन । जीवनले उनलाई कतातर्फ मोडिरहेको छ भन्ने संयोग आफैं अन्यौलमा थियो त्यति बेला ।
‘हेर्नुस् यो उपाध्याय र जैसी भनेको केही होइन । सबै समान हो यो जमानामा । म आशालाई भुल्न सक्दिन यो जुनीमा । अरु मलाई थाहा छैन ।’ यति मात्र भन्न सक्यो उसले ।
उसको मिल्ने साथी विराज पनि संयोग घर आएको थाहा पाएपछि उसलाई भेट्न आयो । सबै कुरा थाहा थियो विरोजलाई संयोग र आशाको भविष्य विराजले पनि राम्रो देखिरहेको थिएन ।
‘हेर संयोग । मलाई थाहा छ, वर्षौंको सम्बन्ध हो, तैंले आशालाई धेरै माया गर्छस्, तर तेरो परिवारले माने पनि उसको परिवारले मान्दैन । फेरी जन्म, मृत्यु र विवाह भनेको हाम्रो हातमा पनि त छैन । सकभर उसलाई बिर्सने कोसिस गर अनि अगाडि बढ् ।’ विराजले उसलाई भन्यो ।
आशालाई बिर्सने त कुरै थिएन । किन कि संयोगको लागि जिउने आधार नै आशा थियो ।
संयोगको मन नै दोधार भो । के गर्ने के नगर्ने ।
‘सम्बन्धका बारेमा कसैले थाहा नपाउँदा बरु ठीकै थियो । तर अहिले थाहा पाएर झन् समस्या भो । उता आशाले मेरो प्रतीक्षा गरेर बसिरहेकी होली । अब म के गरौं ? यो सम्बन्धबाट म उसको परिवार खुसी छ, न मेरो नै । ह्या…..लाइफ पनि के हो के ।’, संयोगले सोच्यो ।
सबैको गुनासो र के गर्ने के नगर्ने भन्ने दोधारबाट गुज्रिदै संयोग पोखरातिर लाग्यो फेरी ।
आशा र संयोगलाई दुवैको परिवारले एकअर्कालाई नभेट्ने बाचा गराएर पोखरा पठाएका थिए । तर मन नै त हो, दुवैको मन कसरी मान्थ्यो र ? फेरी पनि भेटे पोखरामा दुवैले ।
अनि मनभरीका व्यथा सुनाए एकअर्कालाई ।
उनीहरुलाई अहिले पढाईभन्दा पनि आफ्नो मायालाई कसरी बचाउने भन्ने भयो ।
एकअर्काको कुरा सुनिरहे । जसरी पनि दुवैको परिवारलाई सम्झाउने कुरा भयो । भेटे पनि भेटेको छैन भन्दै दुवैले घरमा पनि केही थाहा दिएनन् । परिवार पनि उनीहरुको कुरा विश्वास गर्न बाध्य थियो ।
फेरी केही समयपछि उनीहरु आफ्नो परिवारलाई सम्झाउन घर फिर्ता भए । अबका मान्छन् होला भन्ने दुवैको विश्वास थियो । तर भइदियो ठ्याक्कै उल्टो ।
जति कोसिस गरेपनि परिवारका सदस्यले मान्दै मानेनन् ।
परिवारका सामु फोनमा कुरा गर्ने कुरै भएन । एसएमएस मार्फत् सबै कुरा आदानप्रदान गरिरहेका थिए आशा र संयोगले । एसएमएस मार्फत् कसैले थाहा नपाउने गरेर एक दिन लुक्दैछिप्दै भेट्ने कुरा गरे उनीहरुले ।
संयोग केही बेर हावा खाने बाहनामा घरबाट निस्कियो भने आशा सुस्मा र आकृतिलाई भेट्ने बाहनामा घरबाट निस्किए र भेटे गाउँभन्दा टाढा, जहाँ उनीहरुलाई कसैले चिन्दैनथे ।
‘के गर्ने संयोग ? जति गरेपनि मेरो परिवारले त हाम्रो सम्बन्ध स्वीकार गर्दैन जस्तो छ, म तिमी बिना जीवन जिउनुको कल्पना पनि गर्न सक्दिन । तर परिवारले मानेन भने उहाँहरुको कुरा काट्न पनि सक्दिन । म त बीचमा परें, न त तिमीलाई बिर्सन सक्छु, न त आमाबाबालाई नै । खै के हुने हो अब ?’ भेट हुनासाथ आशाले संयोगलाई निराश हुँदै भनी ।
‘त्यस्तो किन सोच्छौं आशा ? म पनि त त्यही अवस्थाबाट गुज्रिरहेको छु । मेरो परिवारले मान्छन् होला, त्यही पनि मात्र मेरो खुसीको लागि । उनीहरु पनि त सकभर तिमीबाट मलाई टाढा बनाउन खोजिरहेका छन् । तर तिमी पीर नमान । म केही न केही उपाए लगाउँछु ।’ सयोग आशालाई भन्छ ।
पीर त उसको मनमा पनि नभएको कहाँ हो र ? तर आशाको अगाडि पीर मानेको देखाएर सबै समस्या भने ऊ टुट्न सक्छे भनेर केही पनि भनेन । आफ्नै मनमा राखिरह्यो ।
धेरै बेर एकअर्काको मनका कुरा सुनेपछि उनीहरु फर्किए आ–आफ्नो घरमा मनभरी पीडा बोकेर ।
त्यही राति आशालाई भेट्न उसका साथी सुस्मा र आकृति आए ।
‘अब के गर्छस् र आशा, हामीलाई माफ गर् । बाध्यतामा परेपछि तेरो आमाबाबालाई सबै भन्नुप¥यो । यो हाम्रै कारणले भएको हो ।’ सुस्माले निराश हुँदै भनी ।
‘होइन, यो सब हुन्छ भन्ने हामीलाई पहिले नै थाहा थियो । तर हामीले लुकाएर माया गास्यौं । यसमा तिमीहरुको गल्ती छैन । आखिर एक न एक दिन हाम्रो परिवारले थाहा त पाइहाल्थे नि ।’ आशाले भनी ।
‘अब के गर्छस् त आशा, अंकल आन्टीले मान्नुहुन्न ? संयोगले के भनेको छ ?’ आकृतीको यो प्रश्नले आशा झसंग भई । के गर्ने भन्ने सोच्नै सकेकी थिइन उसले ।
‘खै ? के गर्ने के नगर्ने । केही सोच्नै सकेकी छैन ।’ यति मात्र जवाफ दिन सकी आशाले दुवै साथीलाई ।
त्यो रात आशा, आकृती र सुस्माबीच लामो कुराकानी भयो । त्यसपछि दुवै जना घर गए ।
आकृती र सुस्मा घर गएपछि पनि आशाको आँखामा निन्द्रा पटक्कै आएन । जति कोसिस गर्थी त्यति मनमा कुरा खेल्थ्यो के गर्ने के नगर्ने भनेर । ऊ न त संयोगलाई गुमाउन चाहान्थ्यो, न त आमाबाबालाई । सबैलाई मिलाएर जाने उसको कोसिस निरर्थक हुँदै गइरहेको थियो ।
त्यो रात कसरी बिना सुतेर बित्यो उसले पत्तै पाइन । एकातर्फ पढाई बिग्रिरहेको थियो भने अर्कोतिर जीवन नै धरापमा परिरहेको जस्तो लागिरहेको थियो आशालाई ।
एक दन अचानक विराजले संयोगलाई आशालाई त्याग्नै नसक्ने भए भागेर विवाह गर भन्ने उपाए दियो । संयोगको लागि पनि अन्तिम उपाए नै यही थियो आशालाई आफ्नो बनाउन ।
त्यही उपाए आशालाई एसएमएस मार्फत् भन्छ संयोग । तर जवाफ केही आउँदैन आशाको तर्फबाट । धेरै बेर जवाफ नआएपछि लुकेर फोन गर्छ आशालाई उसले ।
‘तिमी कस्तो कुरा गर्छौं संयोग ? यहाँ अवस्था नाजुक छ, घरमा नै बन्धक जस्तो भएर बस्नु परिराको छ आफूलाई । तिमी भाग्ने कुरा गर्छौ ?’ आशा अलि रिसाए जस्तो गरेर भन्छे ।
तर संयोग आशालाई सबै कुरा सम्झाउने प्रयासमा थियो । ‘आशा तिमी त्यसरी नरिसाउन यार । मैले सबै कृुरा सोचेर मात्र भनेको छु । अब हामी केही गरे पनि परिवारको सहमतिमा एक हुन सक्दैनौं । अन्तिम अस्त्र भनेको भाग्नु नै हो । कि तिमी पनि मलाई जैसी हो भनेर छोड्छौ ? म बिनाको जीवन कल्पना गर्न सक्छौ तिमी ?’ संयोगले यति मात्र के भनेको थियो आशाले जवाफ फर्काइहाली ।
‘तिमी बिनाको जीवन सोच्न पनि सक्दिन र सोच्दिन पनि । तर आमाबाबा पनि त मेरो आफ्नै हुन् । त्यही पनि तिमीले भनिहाल्यौ, मलाई सोच्न टाइम देऊ ।’ आशाले भनी ।
‘हुन्छ ।’ भन्दै संयोगले फोन काट्छ र कसैले देखे कि भनेर वरीपरी नजर लगाउँछ ।
आशाले पनि सबैतिर हेर्छे कोही आयो कि भनेर । तर कोही थिएनन् ।
त्यो रात आशा र संयोग निदान सक्दैनन् । आशालाई के गर्ने भयो । संयोगलाई आशाले के भन्लिन् भन्ने चिन्ता थियो । धेरै बेर कोल्टे फेर्दै बित्यो र बिहान हुने समयमा मात्र निदाए । उनीहरु दुवैलाई लागेको थिएन जैसी र उपाध्याय भएमा पनि यस्तो समस्या आउँछ भनेर । दुवैले सोचेका थिए, कुनै दिन समस्या आइहाले परिवारलाई सम्झाउँला, सम्झाएपछि मानिहाल्छन् । तर परिस्थित सोंचभन्दा उल्टो भइदियो । परिवारले जति सम्झाए पनि मान्दै मानेनन् ।
भागौं भने पनि आशाले संयोगको एसएमएसको जवाफ दिनै छोडी । के गर्ने के नगर्ने भयो उसलाई । एसएमएस मात्र होइन, घरबाट टाढा गएर फोन गर्दा पनि उसले उठाइन ।
अब त संयोगलाई डर लाग्न थाल्यो आशालाई केही भइहाल्यो कि भनेर । आकृती र सुस्मालाई परिस्थितिका बारेमा बुझ्न लगायो उसले । ती दुवैले केही नभएको र नमिलेर फोनको जवाफ दिन सकेको जानकारी गराए संयोगलाई । अब भने उसलाई केही ढुक्क भयो ।
यसरी नै दिन बितिरहेका थिए । उनीहरुको सम्बन्ध स्वीकार्न दुवैको परिवार तयार भएनन् । संयोग र आशाले परिवारलाई सम्झाउन गरेको सबै कोसिस बेकार गयो । तर एकअर्कालाई भुल्न दुवै तयार थिएनन् ।
उनीहरु न त भेट्न नै पाइरहेका थिए, न त एसएमएसमा कुरा गर्न नै । तर संयोगले विराजलाई भनेर आशालाई बोलायो पहिले भेटेको एकान्त स्थानमा ।
आशा आइ निराश र हारेको प्रेमिकाको अनुहार लिएर । ‘अब के गर्ने संयोग ? यसरी लुक्दै कति दिने भेट्ने ? म तिमी बिना बाँच्न सक्दिन । आमाबाबाले हामीलाई स्वाकार गर्दैनन् । मैले त हार खाइसकें । हाम्रो माया अधुरो हुने भो संयोग ।’ आशाले रुँदै भनी ।
‘रोएर हुँदैन आशा । त्यस्तो किन सोच्छौं तिमी ? म छु त ? मैले तिमीलाई भागौं भनेको होइन त ? तिमी भन्छौ भने म अहिले नै भगाउन तयार छु । हुन्छ ?’ संयोगले आशालाई सोध्यो ।
‘हुन्छ । म भोलि बिहान कोही नउठेको बेलामा घरबाट निस्कन्छु । हामी एकअर्कालाई फोन नगरौं । तिमी भोलि बिहान यहीं आएर मलाई पर्ख म पनि आउँछु ।’ आशाले भनी ।
धेरै विषयमा छलफल गरेपछि भाग्ने भन्दै उनीहरु त्यहाँबाट छुट्टिए । यसको विषयमा विराज, सुस्मा र आकृतीलाई समेत केही जानकारी थिएन ।
भोलिको पर्खाइमा संयोग खुसी थियो, वर्षौं पछि उनीहरुको सम्बन्धले नाम पाउँदै थियो । परिवारको असहमति भएपनि एकले अर्कालाई अपनाउँदै थिए । आज राति भने संयोगलाई राम्रो निन्द्रा लाग्यो ।
भोलिपल्ट आशाले भनेको ठाउँमा नै गएर संयोग कुरेर बस्यो । फोन पनि नगर्नु भनेकाले संयोगले आशालाई फोन गर्ने हिम्मत गरेन ।
ऊ त्यहीं बसेर कुरिरह्यो ।
बस् कुरिरह्यो ।
उसलाई तर पर्खाइको त्यो मिठो पलमा आशाले सदाका लागि संसार छोडिसकेकी छिन् भन्ने थाहा पनि थिएन ।
जीवन सँगै बिताउने सपना देखेर आशालाई कुरिरहेका बेला अचानक विराजको फोन आउँछ उसलाई ।
‘ओई तँ कहाँ छस् ? तँलाईं थाहा नभएको कि थाहा नपाएको जस्तो गरेको ? छिटो घर आइज । आशाले आत्महत्या गरी रे । त्यस्तो हुँदा तैले थाहा पनि पाइनस् ?’ भन्दै थियो विराज ।
तर संयोगले आशाले आत्महत्या ग¥यो भन्ने शब्दबाहेक अरु सुन्दै सुनेन र लाग्यो आशाको घरतर्फ ।
………
होस् हराएर अतीतमा बाँचिरहेको संयोगलाई आशाको घरमा नै रहँदा अचानक कसैले ए भाइ, के गरेर बसिरा तिमी, उठ भन्दा बल्ल होस् आयो र अतीतबाट वर्तमानमा फर्कियो ऊ । अनि निकै रोयो ऊ । लाग्यो उसको रुवाईले सायद दैवलाई पनि कुनै दिन अवश्य पश्चाताप हुने छ आशालाई छिट्टै ऊबाट टाढा लगेकोमा ।
ऊ एकान्तमा रोइरहेको थियो । पोस्टमार्टमका लागि आशाको शवलाई पुलिसले त्यही बाटो हुृँदै लगिरहेको थियो । ऊसँग अब टाढाबाट हेर्नुको विकल्प थिएन । हिजोसम्म आफैसँग भागरे सँगै जीवन बिताउने कुरा गर्ने आशा आज निर्जीव अवस्थामा छिन् भनेर उनले पत्याउन सकिरहेको थिएन । तर भाग्यको खेल, त्यो साँचो थियो ।
संयोगको अवस्था देखेर उसको परिवार सहित सुस्मा, आकृती र विराज पनि उसलाई नै खोजिरहेका थिए । बाटोमा त्यसरी एक्लै रोइरहेको देखेर सबै जनाको आँसु खस्यो । उनीहरु नरोऊ भन्न पनि सकिरहेका थिएनन् ।
भनुन् पनि कसरी ? ऊ कुन दुखबाट गुज्रिरहेको थियो त्यो त उनीहरु अनुभव मात्र गर्न सक्थे ।
आशाले आत्महत्या किन गरी कसैलाई थाहा थिएन । यस्तो काम गर्नुभन्दा अगाडि एउटा चिट लेखेकी थिई संयोगको नाममा । तर त्यो पनि लेखेर घरमा होइन, आफूहरु भेट्ने ठाउँमा नै छोडेकी थिइ । उसलाई सायद थाहा थियो, ऊ मरेर गएपनि संयोग अवश्य फेरी एकपटक त्यो ठाउँमा जाने छ ।
साँच्चै नै संयोग केही दिनपछि त्यही ठाउँमा गयो, अनि भूईंमा हात पछार्दै बेस्सरी एक्लै रायो । त्यही क्रममा उसले एउटा चिट भेट्छ आशाको । जहाँ लेखिएको थियो,
प्रिय संयोग ।
यो चिट तिमीले पाउनुभन्दा अगाडि म तिमीबाट धेरै टाढा गइसकेको हुने छु । सायद तिमीले मलाई माफ गर्दैनौ होला । तर तिमी बिना म बाँच्न सक्दिन, परिवारले हाम्रो मायालाई स्वीकार गर्दैन । म परिवार र तिमीलाई मिलाएर जान चाहन्थे, तर सकिन । त्यसैले यो संसार छोडेर जाँदै छु । मलाई माफ गर । म तिमीलाई पनि गुमाउन सक्दिन, न त परिवारलाई नै । यसरी सबैको बीचमा पिल्सिएर बस्नुभन्दा सबैबाट टाढा जानु नै बेस जस्तो लाग्यो त्यसैले पनि यो फैसला गरेको हुँ मैले । मलाई माफ गरिदेऊ है प्लीज ।
आशा ।
चिट पढेपछि ऊ झन् रोयो । रुँदा–रुँदा थाकेपछि ऊ घर फर्कियो ।
घटनापछि संयोग घरबाट निस्कनै छोड्यो । सुस्मा, आकृती विराजले भेट्न खोजेपनि मानेन ।
केही दिनपछि विराजले आशाको शव पोस्टमार्टमपछि अन्तिम संस्कार गर्ने हो, आइज भनेर खबर ग¥यो । यति सुनेपनि संयोग आशालाई अन्तिम पटक हेर्न जान तयार भयो ।
संयोग जाँदासम्म उसको परिवारले आशाको शवलाई घाट लगिसकेका रहेछन् । त्यसपछि ऊ दकुर्दै घाटतर्फ लाग्यो । आशाका आमाबाबा संयोगलाई आशाको अनुहार हेर्न दिने पक्षमा थिएनन् । तर सबैले अन्तिम हो हेर्न दिनुस् भनेपछि उनीहरु बाध्य भए ।
आशालाई त्यो अवस्थामा देख्नेछु भनेर सोचेको पनि थिएन उसले । उसकी प्यारी आशालाई त्यो अवस्थामा देखेपछि धक फुकाएर रुन पनि सकेन ऊ ।
सबैले आशालाई अन्तिम पटक हेरेपछि एउटै छोरी भएकाले आमाबाबा दुवैले आशाको शवको अन्तिम संस्कार गरे । अन्तिम संस्कार पछि सबै जना घर फर्किए ।
संयोग होस् कतै हराएको मानिस झैं घर फर्किरहेको थियो एक्लै । ऊ बाटोमा फर्किंदा बाटोमा पर्ने कसैको घरमा गीत बजिरहेको थियो………
म तिम्रो सहर छोडी टाढा……टाढा जाँदै छु
तिमीसँग कहिले नभेट्ने कसम खाँदै छु……….
Facebook Comment