खाँणदेवी आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण सम्पन्न

अमृत काम्मु
प्रकाशित : २०७७ भदौ २१ गते २१:५५

भाद्र २१ (कर्नेडाँडा,पाल्पा)
पुर्वखोला-५,वीरकोट,कर्नेडाँडामा रहेको श्री खाँणदेवी आधारभूत विद्यालयले छात्रवृत्ति वितरण गरेको छ ।
आज विद्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रमका बीच,विद्यालयमा विभिन्न व्यक्तिहरुको नाउँमा स्थापित छात्रवृत्ति अक्षयकोष तथा गाउँपालिकाबाट प्राप्त जेहेन्दार विद्यार्थी छात्रवृत्ति संयुक्तरूपमा वितरण गरिएको हो । गाउँपालिकाबाट प्राप्त छात्रवृत्ति अन्तर्गत ४ जनालाई स्कुल ब्याग,साथै विभिन्न शिक्षाप्रेमीहरुद्वारा स्थापित ७ वटा छात्रवृत्ति अक्षयकोष मार्फत प्राप्त ब्याजबाट विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्मका ३१ जना छात्रहरुलाई प्रतिव्यक्ति रु. ४००/- का दरले नगद छात्रवृत्ति गरि जम्मा ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक नीर बहादुर थापाले बताउनुभएको छ । नेपाल सरकारले विद्यालय तहमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई स्वत: छात्रवृत्ति प्रदान गर्ने प्रावधान रहेको हुँदा कोही पनि छात्रवृत्तिबाट बञ्चित नहोस भनेर अक्षयकोष तर्फको छात्रवृत्ति छात्रहरुलाई मात्र प्रदान गरिएको पनि उहाँले बताउनुभयो ।
विद्यालयमा हाल रु. १ लाख ३१ हजार १०० को धन बहादुर,पुर्णिमाया स्मृति अक्षयकोष,रु. १ लाख १ सय १ को मनिकला थापा(बराल) स्मृति अक्षयकोष ,रु. १५ हजारको कृष्णबहादुर काम्मु स्मृति अक्षयकोष,रु. १० हजारको तुलसीदेवी आचार्य स्मृति अक्षयकोष,६ हजार १ सयको गंगा बहादुर काम्मु अक्षयकोष,रु. ५ हजारको मन बहादुर काम्मु स्मृति अक्षयकोष र रु. ५ हजारकै महेन्द्र फोटोकपी अक्षयकोष रहेको छ । विश्वव्यापी कोरोना महामारी र लकडाउनको कारणले शैक्षिक सामाग्रीहरु व्यवस्थापन गर्न समस्या परेको हुँदा नगदै छात्रवृत्ति वितरण गरिएको पनि थापाले बताउनुभएको छ ।


प्रकाशित : २०७७ भदौ २१ गते २१:५५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology