सिकाई उपलब्धी जोगाउन एक हुनुपर्छ ः मरासिनी

Kandara News
प्रकाशित : २०७७ पुष ६ गते २०:०५

भुपाल आले पुस ६ गते
पाल्पा÷विद्यार्थीहरुको सिकाई उपलब्धीलाई निरन्तरता दिन स्थानीय सरकार, सरोकारवाला, गैर सरकारी संस्था एक भएर अगाडि बढ्नु पर्ने जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक सभापति मीरा मरासिनीले बताउनुभयो । साक्षरता कार्यक्रम लागु भएका विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी, कक्षाकोठाको शैक्षिक वातावरणलाई नजिकबाट हेर्ने अवसर प्राप्त गरेको र विद्यार्थीहरुको सिकाई उपलब्धी प्रभावकारी रहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सबै पक्ष एक भएर अगाडि बढ्नु पर्ने सभापति मरासिनीले बताउनु भयो । रुम टु रिड नेपाल र बेस नेपालले आयोजना गरेको साक्षरता कार्यक्रम हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति मरासिनीले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै सभापति मरासिनीले रुम टु रिड नेपाल र बेस नेपालले सामुदायिक विद्यालयमा सञ्चालन गरेको साक्षरता कार्यक्रम अन्र्तगत कक्षा शिक्षण विधि तथा पुस्तकालय वयवस्थापनले साना विद्यार्थीहरुको पढ्ने सीप र बानीको विकास गरेको र शिक्षकहरुलाई समेत जिम्मेवार बनाएको बताउनु भयो । प्रभावकारी सिकाईलाई निरन्तरता दिन विद्यालय, स्थानीय निकाय, सरोकारवालालाइ अनुरोध गर्दै विद्यालयलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेले रुम टु रिड नेपाल र बेस नेपालले जिल्ला स्थित सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै, हस्तान्तरण पछि विद्यालयलाई थप जिम्मेवारी थपिएको बताउनु भयो । प्रमुख पौडेलले विद्यालयमा भएका गतिविधिहरुलाई निरन्तरता दिने साथै कार्यक्रमबाट सिकेका सीपहरुलाई अझ थप गरी दिगो रुपमा लैजानु पर्ने बताउनु भयो । साथै साक्षरता कार्यक्रमलाई विद्यालयमा प्रभावकारी बनाउन र निरन्तरता दिन अनुरोध गर्नुभयो । कार्यक्रममा रैनादेवी छहरा गाउँ पालिकाका शिक्षा शाखा प्रमुख निशा पाण्डेय, रुम टु रिड नेपाल तनहुँ फिल्ड कार्यलयका वरिष्ठ फिल्ड व्यवस्थापक सुशील तिमिल्सिना, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
विद्यालयका तर्फबाट आदर्श माध्यमिक विद्यालय रिब्दीकोटका प्रधानाध्यापक निर्मल खनाल, सृजना आधारभुत विद्यालय तिनाहका प्रधानाध्यापक श्रीभद्र गौतम तथा लक्ष्मी माध्यमिक विद्यालय तानसेनका व्यवस्थापन समितिका अध्यक्ष विन्दु रावल लगायतले साक्षरता कार्यक्रमले विद्यार्थीहरुका सिकाई उपलब्धी बृद्धिमा सहयोग पु¥याएको भन्दै आगामी दिनमा विद्यालयमा यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले साक्षरता कार्यक्रमका उपलब्धी र आगामी योजना र अपेक्षाका विषयमा जानकारी गर्नुभएको थियो । श्रेष्ठले कोभिडका १९ का कारण साक्षरता कार्यक्रमको हस्तान्तरण भर्चुअल माध्यमबाट गर्नु परेको बताउनुभयो । विद्यालयका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा तथा समन्वय इकाइ पाल्पाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखको रहोबरमा साक्षरता कार्यक्रमलाई हस्तान्तरण गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।
२५ विद्यालयका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको सहभागीता रहेको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सभापति मिरा मरासिनीको प्रमुख आतिथ्य, बेस नेपालका अध्यक्ष छविलाल सुवेदीको सभापतित्व र बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ पुष ६ गते २०:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology